शिक्षक आन्दोलन भड्काउँदै माओवादी र एकीकृत समाजवादी


काठमाडौं । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक शिक्षकहरू एक महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनको २६औं दिनमा निषेधित क्षेत्र तोड्न खोजेपछि आइतबार शिक्षक र प्रहरीबीच झडप भयो । झडपमा शिक्षकतर्फ ४२ र प्रहरीतर्फ पाँचजना घाइते भएका छन् । एकजना पत्रकार पनि घाइते भएका छन् ।

शिक्षक आन्दोलन लम्बिँदै जाँदा घुसपैठ र आफ्नो अनुकूल प्रयोग गर्ने खतरा बढ्दै गएको छ । प्रमुख प्रतिपक्षी माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता एकपछि अर्को गरी शिक्षक आन्दोलनमा सहभागी हुनुले शिक्षक आन्दोलन भड्काउन खोजेको सरकारले आशंका गरेको हो । माओवादी र एकीकृत समाजवादीले खुला रुपमै शिक्षक आन्दोलनलाई आफ्नो समर्थन रहेको जनाइसकेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकलाई सडक नछाड्न उर्दी जारी गरेका छन् । आफैं प्रधानमन्त्री हुँदा शिक्षक महासंघसँग सहमति गरेर १० महिनासम्म कार्यान्वयन नगर्ने प्रचण्डको शिक्षक आन्दोलन भड्काउन खोज्नुलाई सत्तासँग बार्गेनिङका रूपमा लिइएको छ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ त आन्दोलनमै सहभागी भइसकेका छन् ।

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार शिक्षक आन्दोलनलाई समर्थन गर्न माइतीघर, बबरमहल क्षेत्रमा जाँदैछन् । यसअघि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल शिक्षक आन्दोलनमा सहभागी भई आफू र पार्टीको समर्थन रहेको बताएका थिए । शिक्षकको देशभर संगठन भएकाले पनि माओवादी र एकीकृत समाजवादीले आफूतिर आकर्षित गर्ने रणनीति अख्तियार गरेको देखिन्छ ।