काठमाडौं । एक महिनादेखि जारी आवासीय चिकित्सकको आन्दोलन स्थगन हुने भएको छ । सरकार एमबिबिएसको सिट संख्या बढाउन सहमत भएसँगै निजी मेडिकल कलेज आवासीय चिकित्सकको बढेको तलब बढाउन तयार भएका हुन् ।
शिक्षा सचिव दीपक काफ्ले संयोजकत्वको कार्यदलले एमबीबीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएसँगै निजी मेडिकल कलेज सञ्चालक आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सहमत भएको बताइन्छ ।
चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजहरूले पनि सरकारीसरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ दिने निर्णय गरेको थियो। तर, सो निर्णयको मेडिकल कलेजहरूले विरोध गर्दै आएका छन् । जसकारण तीन महिनादेखि आवासीय चिकित्सकले तलब पाउन सकेका छैनन् ।
निजी मेडिकल कलेजहरूको संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्कीले आफूहरू सरकारीसरह निर्वाह भत्ता दिन तयार रहेको बताएका छन् ।
सरकारले बढाएको निर्वाह भत्ता पाउनुपर्ने माग राख्दै देशभरका निजी मेडिकलमा स्नातकोत्तर तह (एमडी, एमएस) अध्ययनरत आवासीय चिकित्सकहरूले एक महिनादेखि सेवा बहिष्कार गर्दै आएका छन्। आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि चिकित्सा शिक्षा आयोगको १८औँ बैठकमा एमबीबीएसको शुल्क र सिट बढाउन शिक्षा सचिव काफ्लेको संयोजत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो।
प्रतिक्रिया