काठमाडौं । शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमै रहँदा जिल्ला जिल्लामा सरकारी स्कुल खुल्न थालेका छन् । विद्यार्थी र अभिभावकमा मानसिक तनाव सिर्जना भएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खोल्न निर्देशन दिन थालेका छन् । जसअनुसार ललितपुर र पोखरा महानगरपालिकाले बुधबारदेखि सामुदायिक विद्यालय खोल्न सूचना जारी गरेका छन् । त्यसैले बुधबारदेखि धेरै स्थानीय तहमा सामुदायिक विद्यालय खुल्ने अनुमान गरिएको छ ।
शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन रोकिएका चितवनको कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरू नगरपालिकाको दबाबपछि खुल्न थालेका छन्। लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै नगरपालिकाले विद्यालय सञ्चालन गर्न कडा दबाब बढाएपछि सोमबारदेखि केही विद्यालय खुलेका हुन्। नगरपालिकाले गत शुक्रवार एक विज्ञप्ति जारी गरेर सबै सामुदायिक विद्यालयहरू तत्काल सञ्चालन गर्न आह्वान गरेको थियो।
नगरपालिकाको दबाबपछि सोमबारबाट कालिका–७ भटेनी स्थित पृथ्वी माध्यमिक विद्यालय सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक सूर्यभक्त अधिकारीले बताए। उनले स्थानीय सरकारले विद्यालय खोल्न दिएको र शिक्षक सङ्गठनले नखोल्न दिएको दबाबका कारण आफूहरू दोहोरो चेपुवामा परेको गुनासो गरे। करिब ८०० विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा सोमबार २०० जना विद्यार्थी मात्र उपस्थित थिए। कालिका–३ मा रहेको आधारभूत विद्यालय वन कट्टामा पनि सोमबारबाटै शैक्षिक गतिविधि सुरु भएको छ।
विद्यालयका प्रधानाध्यापक भक्त तामाङका अनुसार सोमबार केही विद्यार्थी र अभिभावक विद्यालय आएका थिए भने विद्यार्थी भर्ना लिने र पाठ्यपुस्तक वितरण गर्ने काम भयो। कालिका–६ को माध्यमिक विद्यालय रेडक्रस ग्राम पनि सोमबारदेखि सञ्चालनमा आएको छ। विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछानेले नगरपालिकाको निर्देशन र अभिभावकको आग्रहअनुसार विद्यालय खोलिएको बताए। उनले स्थानीय सरकारको निर्देशनलाई अवज्ञा गर्ने अवस्था नरहेको र बालबालिकाको पढ्न पाउने अधिकारको सम्मान गर्दै विद्यालय सञ्चालन गरिएको जानकारी दिए।
नगरपालिकाको निर्देशनबमोजिम विद्यालय सञ्चालन भए नभएको अनुगमन गर्न सोमबार सामाजिक विकास समिति संयोजक तथा वडा नं ४ का वडाध्यक्ष मकरमान श्रेष्ठको नेतृत्वमा एक टोली खटिएको थियो। टोलीले विभिन्न वडाका ८ वटा विद्यालयको अनुगमन गर्दा सबैमा शैक्षिक गतिविधि निर्बाध रूपमा सञ्चालन भइरहेको श्रेष्ठले बताए। उनले कालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन नियमित गराउन अनुगमनलाई निरन्तरता दिइने जानकारी दिए।
शिक्षकहरू आन्दोलनमै छँदा स्कुल खुल्न थालेपछि नेपाल शिक्षक महासंघ दबाबमा परेको छ । जसअनुसार सरकारले गरेको वार्ता आह्वानलाई स्वीकार गर्दै महासंघ सोमबार मध्यरातिसम्म वार्तामा बसेको थियो । तर कुनै निष्कर्ष निस्कन सकेन । मंगलबार पनि महासंघ र सरकारबीच वार्ता हुने भएको छ । प्रमुख दलका प्रमुख सचेतकहरूले शिक्षकका माग सम्बोधन गर्ने गरी प्रतिबद्धता जनाएमा शिक्षक आन्दोलन आजैदेखि स्थगित हुने सम्भावना छ ।
प्रतिक्रिया