काठमाडौं । प्रहरीले राप्रपा महामन्त्री धवलशमशेर राणालाई पुनः पक्राउ गर्ने तयारी गरेको छ । स्वास्थ्य समस्या देखाउँदै उपचारका लागि हाजिर जमानीमा प्रहरी हिरासतबाट छुटेका राणा भारतबाट फर्किएलगत्तै विरोध सभामा उपस्थित भएपछि प्रहरीले उनलाई पुनः पक्राउ गर्ने तयारी गरेको हो ।
आइतबार मध्यराति मुम्बईबाट नेपाल वायुसेवाको उडानमा काठमाडौं फर्केका राणा सोमबार दिउँसो राप्रपा नेपालले रत्नपार्कमा आयोजना गरेको विरोध कार्यक्रममा पुगेका थिए ।
तीनकुने घटना प्रकरणमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणा एकैदिन पक्राउ परेका थिए । संगठित अपराध र राज्यविरुद्धको कसुरमा पक्राउ परेका उनीहरु २४ दिनसम्म हिरासतमा सँगै थिए । राणा हाजिर जमानीमा रिहा भए भने मिश्र अझै हिरासतमा छन् । प्रहरीले राणाको स्वास्थ्य समस्यालाई लक्षित गरेर चिकित्सकहरुले सिफारिस गरेपछि उनी हाजिर जमानीमा छुटेका हुन् ।
तर व्यवस्था नै बदल्नुपर्छ भन्ने विरोध कार्यक्रममा सहभागी भएपछि प्रहरीले भारतमा गरिएको पछिल्लो उपचारको मेडिकल रिपोर्ट बोकेर बयानका लागि उनलाई बोलाउने तयारी गरेको छ । भारतको मुम्बईमा फलोअप गरेर फर्केका राणाले उतैबाट आफू राप्रपा नेपालले गर्न लागेको विरोध सभामा सहभागी हुने घोषणा गरेका थिए । मानवीय हिसाबले राणालाई छाडे पनि उनको अवस्था कस्तो छ भन्नेबारे प्रहरी बेखबर छ । राणाले पनि आफ्नो मेडिकल रिपोर्ट अहिलेसम्म प्रहरीलाई बुझाएको छैन । राणा दिनका दिन आन्दोलनमा हिँडेमा प्रहरीले उनलाई पक्राउ गर्न सक्ने स्रोतले बतायो ।
प्रतिक्रिया