काठमाडौं । २८ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका देशभरका सामुदायिक शिक्षकहरू बुधबारदेखि कार्यस्थल फर्किने सम्भावना बढेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकहरूसँगको वार्ता माग सम्बोधनउन्मुख रहेको बताउँदै बुधबारसम्म एउटा निकास निस्कने उनको भनाइए छ ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरू र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिहरूसँग मंगलबार कुरा गर्दै महरले सोमबारयताका पटकपटकका वार्तापछि सरकार, संयन्त्र, राजनीतिक दल र शिक्षक नेता सहमतिनजिक पुगेको बताएका हुन् ।
‘‘आन्दोलनरत शिक्षक बुधबारसम्म कार्यस्थल फर्किने गरी नेपाल शिक्षक महासंघसँग गम्भीर रूपले वार्ता परिणाममुखी हुने गरी गृहकार्य भइरहेको छ,’ कांग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरले भने ।
तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज–भोलि नै मन्त्रिपरिषदबाट सम्बोधन हुने र विद्यालय शिक्षा ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको उनले खुलाए । ‘कक्षा १२ को परीक्षा समयमै सुरु हुने गरी काम भइरहेको छ । नेपाल शिक्षक महासंघका प्रायः एजेन्डा मन्त्रिपरिषदबाट सम्बोधन हुने र शिक्षा ऐन यथाशक्य छिटो पारित गर्ने प्रतिबद्धतासहित माग सम्बोधन गर्ने गरी गृहकार्य अगाडि बढिरहेको छ,’ उनले थपे ।
सोमबार मध्यरातिसम्म कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निवास गोल्फुटारमा बसेको शिक्षक महासंघका केन्द्रीय पदाधिकारी र प्रमुख राजनीतिक दलका नेतासहितको बैठकमा पहिलो र दोस्रो चरणमा सक्ने गरी शिक्षकसँग सहमतिको मोटामोटी खाका तयार भइसकेको छ । खड्का निवासमा सघन वार्तापछि शिक्षक महासंघका पदाधिकारी सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा मन्त्री रघुजी पन्तसँग वार्तामा बसेका थिए । मंगलबार दिउँसो ३ बजे फेरि सरकार र महासंघबीच वार्ताको समय तोकिएको छ ।
प्रतिक्रिया