अवहेलना मुद्दामा सर्वोच्चले गगनसँग माग्यो लिखित जवाफ


काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस महामन्त्री गगन थापासँग लिखित जवाफ माग गरेको छ । थापाविरुद्ध अदालतको अवहेलना गरेको आरोप लगाउँदै दर्ता भएको रिट निवेदनमाथि सर्वोच्चले मंगलबार विपक्षीसँग लिखित जवाफ मागेको छ। कानून व्यवसायी अनन्तराज लुइँटेलसहित तीनजनाले महामन्त्री थापाविरुद्ध वैशाख १४ गते दर्ता गरेको रिटमाथि न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाई पश्चात अदालतले यस्तो आदेश दिएको हो।

केही दिनअघि महामन्त्री थापाले देशको राजनीतिक क्षेत्रदेखि राज्यका सबै संवैधानिक र प्रशासनिक निकायमा जनविश्वास घट्दै गएको र त्यसमाथि पनि अदालत र अख्तियार जस्ता संवैधानिक निकायमा निश्पक्ष रुपमा कामकारबाही हुन नसकिरहेको जनगुनासोबारे चर्चा गर्ने क्रममा अदालतको विषयमा पनि बोलेका थिए। थापाले संवैधानिक अंगमा नियुक्त ५२ पदाधिकारीको पेसी सरेको सर्यै गर्ने र अदालत नै देखाइदिउँ भनेर अघि बढेको आरोप लगाएका थिए ।

सोही विषयलाई लिएर कानून व्यवसायी लुइँटेलसहितको समूहले थापाविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरेको थियो । सर्वोच्चको आदेशपछि अब थापाले लिखित जवाफ पेस गर्नुपर्नेछ । यदि अदालतलाई चित्त नबुझेमा अवहेलना गरेकोमो दोषी ठहर गरी सजाय तोक्ने छ ।