‘ऊनको स्विटर’को ट्रेलरमा विपिन र मिरुनाको प्रेमकथा



फिल्म ‘ऊनको स्विटर’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाखको २६ गतेबाट रिलिज हुने नवीन चौहानको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा गायक सुजन चापागाइले दर्शकलाई गीतको माध्यमबाट झुमाएका थिए ।

आर्टमाण्डु प्रा.लिको पहिलो फिचर फिल्मको छायांकन पूर्वी नेपालको पाँचथर जिल्लामा गरिएको छ । यो फिल्मले पाँचथरदेखि भारतको वेष्ट बङ्गालसम्मको कथालाई भन्ने निर्देशन चौहानको भनाई छ ।

यो फिल्ममा नायक विपिन कार्की र नायिका मिरुना मगरको मुख्य भूमिका छ । फिल्म उनीहरुको प्रेमकथाको वरिपरी घुमेको छ ।

यो फिल्ममा एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, भावना खपाङ्गी, सुरज तमु लगायतका कलाकारहरुको अभिनय छ ।

सुजन चापागाँई र झुमा लिम्बुको संगीत, नवीन चौहानको लेखन रहेको यो फिल्मले सांस्कृतिक विविधता, सामाजिक अन्तरविरोध, नेपाली समाजका जीवन्त रंगहरुलाई बुन्ने प्रयास गरेको छ । फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा यसको निर्माणपक्षको छ ।