सिके राउत र रेशम चौधरी एक हुँदा मधेशको शक्ति सन्तुलनमा धक्का लाग्ने


काठमाडौं – २०७९ को निर्वाचनबाट उदाएका सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिच बुधबार पार्टी एकता घोषणा हुँदै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने औपचारिक कार्यक्रममा एकीकृत पार्टी ‘नागरिक जनमत पार्टी’को घोषणा गरिनेछ ।

एकीकृत पार्टीमा जनमतका ६ र नागरिक उन्मुक्तिका चार गरी कुल १० सांसद रहनेछन् । यो एकतापछि नागरिक जनमत पार्टी तराई–मधेश क्षेत्रको सबैभन्दा ठुलो दलका रूपमा स्थापित हुनेछ । हाल जसपा नेपाल पाँच सिटमा खुम्चिएको छ भने विभाजित समूह जसपासँग सात सांसद छन् । लोसपाका भने चार सांसद छन् ।

नयाँ पार्टीमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी संरक्षक नै रहनेछन् । जनमत पार्टीका अध्यक्ष सिके राउत कार्यकारी अध्यक्ष र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष हुनेछिन् । पहिलो वरीयतामा चौधरी, दोस्रो वरीयतामा राउत र तेस्रो वरीयतामा श्रेष्ठ हुनेछन् । चुनाव चिह्न उन्मुक्ति पार्टीको ढकिया हुनेछ । यदि जनमत र नागरिक उन्मुक्तिबीच एकता भएर अघि बढेमा मधेशको शक्ति सन्तुलनमा धक्का लाग्ने छ ।

मधेशको राजनीतिमा अहिलेसम्म उपेन्द्र यादव निर्णायक र बलशाली देखिँदै आएका छन् । संसदमा जनमत र नागरिक उन्मुक्तिको एकताबाट १० जना सांसदसहितको शक्ति बनेर उदाउने छ, जो उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीभन्दा ठूलो शक्ति बन्ने छ ।

नयाँ शक्तिले मधेशमा उपेन्द्र यादवको विकल्पका रूपमा स्थापित हुने सपना बोकेको छ, जसलाई राउतले लामो समयदेखि अगाडि सार्दै आएका छन्। हालसालै जनता समाजवादी पार्टीबाट फुटेर सातजना सांसदसहित अशोक राईको नेतृत्वमा छुट्टै समूह बनेको छ। यस्तो अवस्थामा मधेशमा शक्तिको सन्तुलन पुनः परिभाषित हुने स्पष्ट संकेत देखिँदैछ।