गगन थापाले गरे गठबन्धन बैठक बहिष्कार, ओलीसँगको विवाद पृष्ठभूमिमा


प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आज बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी भएनन्।

पछिल्ला दिनमा प्रधानमन्त्री ओली र थापाबीच सार्वजनिक रूपमा आरोप-प्रत्यारोप चलिरहेको छ। गगन थापाले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको टिप्पणी गरेपछि ओलीले सार्वजनिक रूपमा आपत्ति जनाएका थिए। त्यसको भोलिपल्टै आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा गगन अनुपस्थित रहे।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी बैठकमा सरकारका हालका गतिविधि, शिक्षक आन्दोलन र सरकारको नीति तथा कार्यक्रमबारे छलफल भइरहेको छ। कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री आरजु राणा सहभागी छन्।

एमालेतर्फबाट प्रधानमन्त्री ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल उपस्थित छन्।

यस्तै, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष अशोक राई, खानेपानीमन्त्री प्रदीप यादव र श्रममन्त्री शरदसिंह भण्डारी पनि बैठकमा सहभागी भएका छन्।