रेशम चौधरीको गिरफ्तारीप्रति सिके राउतको भर्त्सना, पार्टी एकता घोषणा स्थगित


काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीप्रति जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कडा विरोध जनाएका छन्।

आज नाउपा र जनमत पार्टीबीच एकता घोषणा हुने कार्यक्रम तय थियो। तर, चौधरीलाई प्रहरीले कार्यक्रमस्थलमै पक्राउ गरेपछि एकता घोषणा स्थगित गरिएको हो।

“पार्टी एकीकरणको घोषणा प्रज्ञा प्रतिष्ठानमा हुँदै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले सोही स्थलबाटै पक्राउ गरी पुरानो अदालती फैसला कार्यान्वयन गर्न डिल्लीबजार कारागार पठाएको खबर प्राप्त भएको छ। यस घटनाको हामी घोर भर्त्सना गर्दछौं,” राउतले सामाजिक सञ्जालमार्फत बताएका छन्।