काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि फेरि एकपटक नेपालको राजनीतिमा सनसनी मच्चिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ५० प्रतिशत कैद सजाय भुक्तान भएपछि उनलाई आममाफी दिइएको थियो । कैलालीको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतले चौधरीलाई मुख्य दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको थियो ।
तत्कालीन माओवादी–कांग्रेस नेतृत्वको सरकारका बेलामा चौधरी आधा कैद सजाय भुक्तान बाँकी छँदै छुटेका थिए । त्यसबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए । प्रचण्डकै जोडबलमा मन्त्रिपरिषद् बैठकले निर्णय गरी चौधरीलाई रिहा गरिएको थियो । रेशम चौधरीलाई आममाफीको सिफारिस गर्ने तत्कालीन प्रचण्ड सरकार र उक्त सिफारिसलाई लालमोहर लगाइदिने राष्ट्रपति रामचन्द्र पौडेल अहिले नैतिक कठघरामा उभिएका छन् ।
रुपन्देहीका कांग्रेस नेता रिगल ढकाललाई राष्ट्रपतिले आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनको पूर्ण पाठको आधारमा अदालतले पक्राउका लागि पत्र पठाएपछि रेशम चौधरी पक्राउ परेका हुन् । प्रहरीले बुधबार चौधरीलाई पक्राउ गर्न पत्र पठाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइसकेको छ। उनलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन अवस्थामा छ।
व्यक्ति हत्याको आरोप लागेका तरुण नेता ढकाल राष्ट्रपतिबाट आममाफी पाएको केही दिनमै छुटेका थिए । तर चौतर्फी दबाबपछि उनी पक्राउ परी अहिले बाँकी सजाय भुक्तान गरिरहेका छन् । अब रेशम चौधरीले पनि बाँकी सजाय भुक्तान गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । रेशम पक्राउ परेसँगै जनमत र नागरिक उन्मुक्तिबीचको पार्टी एकता अनिश्चितकालका लागि स्थगित भएको छ । राष्ट्रपतिबाट आममाफी पाएका ढकाल र चौधरी दुवै पक्राउ परी फेरि कैद सजाय गर्न कारागार पठाइसकेपछि सरकारको नेतृत्व गर्न प्रचण्ड र राज्यको अभिभावकको भूमिकामा रहन रामचन्द्र पौडेललाई नैतिक संकट परेको छ ।
प्रतिक्रिया