रञ्जिता श्रेष्ठले भनिन्– रेशमजी छिट्टै छुट्नु हुन्छ, विश्वस्त रहनुस्


काठमाडौं – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी छिट्टै छुट्ने भन्दै पार्टीका नेता कार्यकर्तालाई विश्वस्त रहन आग्रह गरेकी छन् । चौधरी पक्राउ परेसँगै असहज परिस्थिति उत्पन्न भएपछि नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले पार्टीपंक्तिलाई आश्वस्त तुल्याउन यस्तो आह्वान गरेकी हुन् ।

कैलालीको टीकापुर हत्याकाण्डका मुख्य दोषी भएको आरोपमा पक्राउ परी जन्मकैद सजाय सुनाइएका चौधरीलाई बुधबार दिउँसो प्रहरीले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको थियो । आजै नागरिक उन्मुक्ति र सिके राउत नेतृत्वको जनमत पार्टीबीच एकता घोषणा सभा कार्यक्रम हुँदै थियो ।

रेशमलाई सर्वोच्च अदालतको फैसला कार्यान्यन निर्देशनालयका कर्मचारीले पक्राउ गरेका हुन् । उनलाई अहिले डिल्लीबजार कारागार पठाइसकिएको छ । चौधरी राष्ट्रपतिबाट आममाफी पाएर बाँकी सजाय भुक्तान नगरी छुटेका थिए । जसले संगठित अपराधलाई बल पुगेको भन्दै आलोचना भएको थियो ।