रेशम छोड्न कारागारलाई सर्वोच्च अदालतले पठायो पत्र


काठमाडौं – सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गरिदिन पत्र लेखेको छ । सर्वोच्चले यसअघि रेशमलाई थुनामा पठाउने पत्र आधिकारिक पत्र नरहेको स्पष्ट पारेको छ । रेशमलाई सर्वोच्चको पत्रका आधारमा सादा पोसाकका प्रहरीले बुधबार पक्राउ गरेका थिए ।

पक्राउ गरी थुनामा पठाउन भनी सर्वोच्च प्रशासनका शाखा अधिकृत महिमानसिंह विष्टको हस्ताक्षरबाट पत्र बाहिरिएको थियो । सो पत्र आधिकारिक नरहेको सर्वोच्चले जनाएको छ ।

‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१। १७ मा कैदमा राख पठाइएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्रबमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स. वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ,’ सहरजिष्ट्रार अच्युत कुइँकेलले लेखेको पत्रमा भनिएको छ ।

सर्वोच्चले मुद्दा फाँटका अधिकृत महिमासिंह विष्टमाथि अनुसन्धान गर्न जिल्ला प्रहरी परिसरलाई पत्र पठाएको छ । पत्रमा रेशम चौधरीलाई कैद भुक्तान गर्न डिल्लीबजार कारागारलाई किन पत्र लेखियो भन्ने छानबिन गर्नसमेत भनिएको छ ।