सर्वोच्चको पत्रपछि छुटे रेशम चौधरी


काठमाडौं – सर्वोच्च अदालतको पत्रपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुटेका छन् । सर्वोच्चले मुद्दा फाँटका अधिकृत महिमानसिंह विष्टले पठाएको पत्र नक्कली भन्दै रेशमलाई पक्राउ गर्न कुनै आदेश नभएको आधिकारिक पत्र पठाएपछि रेशमलाई डिल्लीबजार कारागारले करिब साढे ५ बजेतिर छाडेको हो ।

रेशम छुट्ने भन्ने खबर पाएपछि नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई पहिलेको सर्वोच्चको पत्रका आधारमा सादा पोसाकका प्रहरीले पक्राउ गरिएको थियो । रेशम छुटेलगत्तै नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

नागरिक उन्मुक्तिबाट सरकारमा एकजना राज्यमन्त्री छन् । नागरिक उन्मुक्ति सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा समेत सहभागी छ । आजै नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुँदै थियो ।

रेशम चौधरीलाई छुटाउन उनकी श्रीमती नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत डिल्लीबजार कारागार पुगेका थिए ।