प्रधानमन्त्री केपी शर्मा ओलीले नायिका सुरक्षा पन्तको बचाउ गरेका छन् । आज आयोजना भएको एमाले निकट जनसांस्कृतिक महासंघको मंगलबार आयोजित महाधिवेशन बोल्दै प्रधानमन्त्रीले एक टीभी अन्तरवार्तामा भनेको कुरालाई लिएर राजावादीबाट आलोचना भएको उनको वचाउ गरे ।
उनले, कलाकार र फिल्मलाई बहिष्कार गर्दा अरुलाई फरक नपर्ने भन्दै प्रधानमन्त्रीले राजावादीले यो कुरा सहन नसकेको जिकिर गरेका छन् ।
प्रधानमन्त्रीले कार्यक्रममा भने–‘थुप्रै छन् मान्छेहरु हेर्ने सुन्नेहरु । कला मनपराउनेहरु, विभेद नगर्नेहरु, स्वतन्त्रताको झण्डा उठाउनेहरु थुप्रो छन् । अर्को एउटा कलाकारले के बोल्नुभएको थियो, फिल्म बहिष्कार रे । कस्तो सहनै नसकेको होला ।’
उनले, गायक तथा निर्देशक प्रकाश सपुतको प्रसंग पनि उठाए । उनले भने–‘एकजना कलाकारले एउटा मञ्चबाट एकदुई शब्द बोल्दिएछन् । डेमोक्रेसी भनेको सुन्नै नसक्ने, स्वतन्त्रता भनेको सुन्नै नसक्ने, वाक स्वतन्त्रता भनेको सुन्नै नसक्ने, कसैले विचार प्रकट गरेको सुन्नै नसक्ने । तानाशाहीको प्रेत कस्तरी चम्किएको होला ?’
प्रधानमन्त्रीले कलाकारहरुको समर्थन गरेका छन् । उनीहरुको विरोध गर्नेप्रति प्रधानमन्त्री आक्रामक सुनिएका छन् । उनले अगाडि भनेका छन्–‘नाती, पनाती, खलातीलाई राजा बनाउने कि भन्दा त्यस्तो कुरा नगरौं है, त्यो नचाहिने कुरा भन्दा तिम्रो जिन्दगीभर बहिष्कार गरेर पुग्छ । घरमा गएर सोध आमालाई, म स्वतन्त्र नागरिक हुँ राजा चाहिन्न भन्दा तिमी भात खान्छौं कि आमाको रिसले निस्किएर हिड्छौं । फेरि तानाशाहीको प्रेत घरीघरी तर्साउन आइरहन्छ ।’
प्रतिक्रिया