काठमाडौं – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमामा क्रान्तिकारी निर्णय गरेका छन् । अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान विन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन्। आफू रहेकै स्थानमा प्रस्थान विन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उनको सचिवालयले जानकारी दिएको छ।
यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम विन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए। सोहीअनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रिपरिषद् बैठकले त्यसलाई स्वीकृत गरेको हो। यसले रेफर लिन बीमा गराएकै स्थानमा पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य बीमामा आवद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए। पारित प्रस्तावअनुसार अब स्वास्थ्य बीमाको सेवा लिन तीन महिना पर्खनुपर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ। यसले सेवा लिन थप सहजता प्रदान गर्ने मन्त्री पौडेलको सचिवालयले बताएको छ। यसैगरी, संशोधनअनुसार अब सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु कायम हुनेछ।
हाल स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा विन्दु भने सबै तहमा छैनन्। अब संशोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ। यसले बीमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
प्रतिक्रिया