रेशमको पार्टीसँग एकता गर्न सिके राउतलाई हतारो किन ?


काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउपछि जनमत र नागरिक उन्मुक्तिबीचको एकता तत्कालका लागि स्थगित भएको छ । बुधबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकता घोषणाका लागि तयार थिए। घोषणा गर्न मात्रै बाँकी थियो, दुबै पार्टीका नेताहरू प्रज्ञा प्रतिष्ठान पुग्दै थिए। यही क्रममा रेशम चौधरी समातिए ।

सादा पोसाकमा खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ पुर्जी थमायो, लगत्तै पक्राउ गर्‍यो। नेता तथा कार्यकर्ताहरूले केहीबेर नाराबाजी गरे, चौधरी प्रहरीको गाडी चढेर हिँडे। रेशम किन पक्राउ परे भन्ने नेता कार्यकर्तालाई पत्तै भएन ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले प्रहरीलाई अनधिकृत पत्र पठाएपछि पत्रको कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरेको रहेछ। सर्वोच्च अदालतले प्रहरीलाई अर्को आधिकारिक पत्र लेखेपछि प्रहरीले चौधरीलाई छाड्यो। तर, हिजोकै लागि घोषित जनमत–नागरिक उन्मुक्ति पार्टी एकता घोषणा कार्यक्रम भने अनिश्चित बन्यो।

एकता हेर्न पुगेका नेता कार्यकर्ता निराश भएर फर्किए। जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ। उनीहरूका बीचमा कतिपय कुराहरू टुंगिन बाँकी रहेको बताइन्छ। रेृशम प्याकेजमै घोषणा गरेर जानुपर्ने पक्षमा छन् । तर राउत अहिलेका लागि नाम, नेतृत्व, झण्डालगायत मात्रै घोषणा गरेर जानुपर्ने अडानमा छन्। यसमा उनीहरूबीच सहमति भइसकेको छैन।

आखिर सिके राउतलाई नागरिक उन्मुक्तिसँग एकता गर्न किन हतारो भन्ने अहिले चासोको विषय बनेको छ । नागरिक उन्मुक्तिसँग एकता गर्न पाए १० सिटको पार्टी बन्ने र संघीय संसदमा पावर वृद्धि हुने उनको अपेक्षा छ ।

खासगरी मधेश केन्द्रित दलमध्ये सबैभन्दा ठूलो बनेर जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवलाई साइजमा ल्याउने उनको चाहना छ । त्यही भएर धेरै विषय टुंगिन बाँकी रहे पनि सिके राउतले एकतालाई हतारो गरेको हुनसक्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।