सुरु भयो ‘माइतीघर’को छायांकन सुरु



निर्माता रोहित अधिकारीले फिल्म ‘माइतीघर’को छायांकन सुरु गरेका छन् । आजबाट यो फिल्मको छायांकन म्याग्दीको ताकम गाउँमा शुभसाइत गर्दै छायांकन सुरु गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।

स्थानीय गणेश मन्दिरमा शुभसाइत गर्दै पूजा गरियो । यो फिल्मलाई ४० दिन लगाएर खिचिनेछ । २० दिन ताकम र धारपानी गाउँमा छायांकन हुनेछ भने बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुनेछ ।

धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन शुभसाइत समारोहको प्रमुख अतिथी थिए । उनले, पहिलो पटक गाउँमा फिल्मको छायांकन हुन लागेको भन्दै खुशी व्यक्त गरे । यो फिल्मबाट गाउँको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष पुनको छ ।

शुभसाइत समारोह अघि फिल्मको टिमलाई गाउँमा बाजा बजाउँदै स्वागत गरिएको थियो । यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मिलन तामाङको निर्देशनमा बन्ने फिल्ममा सुसन प्रजापतिको छायांकन रहनेछ । फिल्मलाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ ।

रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ । फिल्मका कार्यकारी निर्माता इश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।

फिल्मले तामाङ संकृतिको कथा भन्नेछ । यसपटक आफूले केही फरक कथामा फिल्म बनाउन लागेको रोहितको भनाई छ ।