भाजपा नेता विजय चौथाइवालेको म्याराथन भेटवार्ता किन ?


काठमाडौं – तीनदिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आएका भाजपा विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले प्रधानमन्त्रीसहितका नेताहरूसँगको भेटघाटमा व्यस्त छन् । काठमाडौं ओर्लिएदेखि उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।

यसबीचमा उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेतासँग भेट गरेका छन् । यस्तै, उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, परराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखक, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेताहरू डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, उदयशमशेर राणा, एनपी साउद, माओवादी नेता जनार्दन शर्मासँग भेट गरे । शुक्रबार बिहान उनले अर्थमन्त्री विष्णु पौडेललाई भेटे ।

राप्रपा र रास्वपा नेताहरूसमेत भेटेर शुक्रबार उनी स्वदेश फर्किँदै छन् । यसपटक सबैजसो भेटवार्ता भारतीय दूतावासले समन्वय गरेको छ । भाजपा अध्यक्ष जेपी नड्डा र विदेशमन्त्री डा. एस जयशंकरसँगको समन्वयमा उनी काठमाडौं आएका हुन् । जम्मु–कस्मिरको पहलगाममा ९ वैशाखमा भएको आतंककारी हमलामा एक नेपालीसहित २६ व्यक्ति मारिएका थिए । यो घटनालाई लिएर भारत र पाकिस्तानबिच शत्रुता बढेको छ ।

यो समयमा नेपालका सबै दलहरूको सहानुभूति र समर्थनका लागि चौथाइवालेलाई भारत सरकारले अनौपचारिक दूतका रूपमा नेपाल पठाएको बुझिएको छ । तर तीन दिनमै एक दर्जनभन्दा उच्च राजनीतिक नेतृत्वसँग भाजपा नेता चौथाइवालेको भेटलाई लिएर संशय मच्चिएको छ । अन्य देशका नेता वा हाम्रै देशका नेताले विदेशमा यस्तो भेटघाट सम्भव छ भन्ने प्रश्न उब्जिएको छ ।