काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई निकालिएपछि साढे पाँच अर्ब घाटामा गएको प्रतिवेदन सार्वजनिक भएको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार जारी गरेको श्वेतपत्रमा घिसिङले विगतमा खर्चको हिसाब नलेखी आम्दानी मात्र देखाउँदा नाफा बढेको उल्लेख गरिएको छ ।
श्वेतपत्रमा गत फागुनसम्म प्राधिकरणmे नौ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्ष ०८०÷८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक शाक्यले बताए । साढे ४६ अर्ब रुपैयाँ नाफा भने पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा–नोक्सान गणना गर्दा हालसम्म पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको उनको भनाइ छ ।
महालेखाको प्रतिवेदनअनुसार लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका बुँदामध्ये प्राधिकरणले सात अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको र चार अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखांकन गरेको दाबी शाक्यको छ । यसबीचमा २९.९१ करोड रुपैयाँ आम्दानी नाघेको देखिएको उनले बताए ।
समग्रमा आर्थिक वर्ष २०८०÷०८१ मा देखाएको नाफा–नोक्सान हिसाबमा थप समायोजन गरी नाफा–नोक्सान कायम गर्नुपर्ने देखिने उनको भनाइ छ । यसमा सम्भावित दायित्ववापतसमेत हुन आउने नोक्सानी संलग्न छैन । यसैगरी, प्राधिकरणसँग नगद प्रवाह कमी भएपछि अहिले थप १० अर्ब रुपैयाँ ऋण लिन लागेको उनले बताए ।
प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब पुगेको छ । कार्यकारी निर्देशक शाक्यले ०८०÷०८१ असार मसान्तसम्मको सम्पत्ति ६ खर्ब ४४ अर्ब पुगेको बताए । त्योमध्ये स्थिर सम्पत्ति दुई खर्ब ३५ अर्ब रहेको उनको भनाइ छ । प्राधिकरणबाट दुई खर्ब २० अर्ब बराबरका आयोजना निर्माणाधीन रहेको पनि उनले बताए । शाक्यले अब लोडसेडिङ इतिहास भइसकेको बताउँदै हल्ला गरे जस्तो नहुने दाबी गरे ।
प्रतिक्रिया