काठमाडौं – सरकारले जडान (एसेम्बली) उद्योगहरु सञ्चालनमा प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यस्तो घोषणा गरिएको हो । नीति तथा कार्यक्रममा जडान उद्योग विस्तार गरेर आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्ने उल्लेख छ । पछिल्लो समय नेपालमा विभिन्न प्रकारका जडान उद्योगहरु सञ्चालनमा आउने क्रम बढ्दो छ ।
सामसुङ टेलिभिजन, बजाज मोटरसाइकल, हुन्डाई, हिरो, रोयल इन्फिल्ड, होन्डा, टिभिएस, यामाहालगायत कम्पनीले एसेम्बली प्लान्ट सञ्चालनमा ल्याइसकेका छन् । यस्तै, विशेष आर्थिक क्षेत्र (सेज) सार्वजनिक निजी साझेदारी मोडलमा विस्तार तथा सञ्चालन गरिने भएको छ । अहिलेसम्म भैरहवा र सिमरामा सेज सञ्चालनमा आएका छन् ।
सरकारले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनमा जोड दिने भएको छ । पहिचान गरिएका वस्तुहरुको निर्यात बढाउन विशेष कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि प्रतिस्पर्धात्मक क्षमता बढाउन लागत घटाउने आधुनिक प्रविधिको उपयोग बढाइने घोषणा गरिएको छ ।
प्रतिक्रिया