‘पढ्दै कमाउने’ कार्यक्रम ल्याउने, शिक्षा विधेयक यसै अधिवेशनमा पारित गरिने


काठमाडौं – सरकारले अबदेखि विद्यार्थीहरूलाई ‘पढ्दै कमाउने’ कार्यक्रम ल्याउने घोषणा गरेको छ। पछिल्लो समय विभिन्न स्थानीय तहले स्कुलमै सीप सिकाइसम्बन्धी पठनपाठन गर्दै आएका बेला सरकारले यो घोषणा गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका क्रममा पाठ्यक्रम परिमार्जन गर्ने घोषणा गरे । उनले अबदेखि ‘पढ्दै कमाउने’ नीति लागू गर्न लागिएको बताएका छन् । यस्तै, सर्वाधिक चासोको विषय रहेको शिक्षा विधेयक यसै बजेट अधिवेशनमा पारित गरिने भएको छ ।

शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा सरकारको उक्त तयारीबारे राष्ट्रपति पौडेलले जानकारी दिएका हुन् । शिक्षा ऐन जारी हुनुपर्ने भन्दै देशभरका सामुदायिक शिक्षकहरूले एक महिना काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । सरकारले असार १५ गतेसम्म शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू घर फर्केका छन् ।