काठमाडौं – देशका अन्य स्थानीय तहका नगर प्रहरीभन्दा काठमाडौं महानगर प्रहरी बल प्रायः विवादमा आइरहन्छ । सडकमा हिँड्नेदेखि ठेलागाडामा तरकारी र मकै पोलेर बेच्ने श्रमिकसम्मलाई काठमाडौं नगर प्रहरीले दुःख दिन छाडेको छैन । केही दिनअघि मात्रै बालुवाटारमा सडकमा व्यापार गर्ने साना व्यवसायीमाथि अत्यधिक बल प्रयोग गरेको आरोपमा चारजना नगर प्रहरी निलम्बनमा परेका थिए । त्यो घटना सेलाउन नपाउँदै काठमाडौंका मेयर बालेन्द्र साह बालेनका नगर प्रहरीले शुक्रबार बिहान काठमाडौंको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीहरुलाई व्यवस्थित बनाउने नाममा सार्वजनिक यातायातसमेत बन्द गराएका छन् । जसको अहिले चौतर्फी आलोचना भइरहेको छ ।
महानगर प्रहरीहरु बिहानै सडकमा लस्करै उभिएका थिए । उनीहरु वारिपारिसम्म उभिएर साना किसान र तरकारी व्यापारीहरुलाई रोक्न खोन्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी केही घन्टासम्म प्रभावित भएको थियो। माछापोखरी क्षेत्रको सडक किनारमा साना किसान, व्यापारीहरुले बिहान करिब ४ बजेदेखि ७ बजेसम्म तरकारी बेच्दै आएका छन् । तरकारी किनबेच गर्नेहरुको भिडभाडले सवारी आवागमनमा बाधा पुग्ने गरेको भन्दै महानगरपालिकाले त्यहाँबाट हट्न भन्दै आएको थियो । तर निर्देशन पालना नभएपछि महानगर प्रहरीहरु आफैं सडकमा उत्रिएर तिनलाई रोक्न खोजेका छन् ।
सडक किनारमा बसेर तरकारी र खुद्रा सामान बेचेर गुजारा चलाउनेहरुलाई व्यवस्थित बनाउने नाममा सार्वजनिक यातायातका साधन नै बन्द गराएको भन्दै महानगरको आलोचना भएको छ । ‘नगर प्रहरीले सार्वजनिक यातायात नै रोकेर तमासा देखाएका छन् । केन्द्रदेखि स्थानीयसम्मका सरकार र सत्तालाई पुलिस राज्य कायम गरेर शक्ति र औकात प्रदर्शन जो गर्नुछ,’ पत्रकार राजन कुइँकेलले सामाजिक सन्जालमा लेखेका छन् । उनले पोस्ट गरेको तस्बिरकै कारण नगर प्रहरीको तमासा छताछुल्ल भएको हो ।
प्रतिक्रिया