भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा, जुनसुकै बेला सैन्य कारबाही सुरु हुन सक्ने


काठमाडौं – काश्मिरको पहलगाममा ११ दिनअघि आतंककारी आक्रमणमा २७ जनाको मृत्यु भएको विषयलाई लिएर भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको छ । वैशाख ९ गते भएको आतंककारी आक्रमणमा परेर एक नेपालीसहित २७ जनाको मृत्यु भएको थियो । त्यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति बैठकले पाँच प्रमुख निर्णय लिएको थियो ।

भारतले सिन्धु जलसन्धिमा आफ्नो सहभागिता निलम्बन गरेको छ, जसले पाकिस्तानलाई पानी बाँडफाँड संयन्त्र लागू गर्दछ । पाकिस्तानले पनि सन् १९७२ को सिमला सम्झौताबाट बाहिरिने धम्की दिएको छ, जसले दुवै राष्ट्रलाई पहिलेको युद्धविराम रेखा नियन्त्रण रेखाको एक वास्तविक सीमाका रूपमा मान्यता दिने प्रतिबद्धता जनाएको थियो । काश्मिरको विषयलाई लिएर दुई राष्ट्रबीच लामो समयदेखि द्वन्द्व चर्किंदै आएको छ ।

पाकिस्तानीका लागि भिसा तत्काल लागू हुनेगरी प्रतिबन्ध लगाइएको छ । उनीहरूलाई ४८ घण्टाभित्र देश छोड्न भनिएको थियो । अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा दिइने छैन । पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्नुका साथै र भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्न भनिएको थियो । पाकिस्तानी कूटनीतिज्ञलाई सात दिनभित्र देश छोड्नुपर्ने भनिएको थियो । सन् २०२१ देखि युद्धविराम सम्झौता भए पनि हालको तनावलाई सन् २०१९ पछिको सबैभन्दा गम्भीर हो । जब भारत प्रशासित काश्मिरको पुलवामामा आक्रमणमा ४० सैनिकको मृत्यु भएपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण सुरु गरेको थियो ।

सन् २०२१ देखि युद्धविराम सम्झौता भए पनि हालको तनावलाई सन् २०१९ पछिको सबैभन्दा गम्भीर रूपमा लिइएको छ । जुनसुकै बेला पनि भारत र पाकिस्तानबीच सैन्य कारबाही सुरु हुनसक्ने अनुमान गरिएको छ । बढ्दो तनावबीच गत बुधबारमात्रै अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफ र भारतीय विदेशमन्त्री एस जयशंकरलाई फोन गरेर दुवै पक्षलाई तनाव कम गर्ने बाटो खोज्न आग्रह गरेका छन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बिहीबार आफ्ना भारतीय समकक्षी राजनाथ सिंहलाई फोन गरेर आक्रमणको निन्दा गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले आफ्ना तीन निकटतम सहयोगी चीन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका राजदूतलाई भेटेर आफ्नो देशलाई समर्थन गर्न आग्रह गरेका छन् । साथै, दुई खाडी राष्ट्र साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका राजदूतमार्फत भारतलाई तनाव कम गर्न दबाब दिन पनि आग्रह गरिएको छ ।

पहलगाम हमलापछि दुई देशबीच तनाव बढिरहेका बेला पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शुक्रबार भारतमाथि आक्रमण गर्ने धम्की दिएका छन् । यद्यपि, पाकिस्तानले सो घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै आइरहेको छ । पाकिस्तानले सो घटनामा आफ्नो संलग्नता नभएको भनेपनि आतंककारीहरूले किन हिन्दुहरूलाई मात्रै छानेर आक्रमण गरे भनेर प्रश्न उठेको छ ।