बढ्दैछ आर्यनको व्यस्तता, ‘महाराजधिराज’मा पनि अनुवन्धित



नायक आर्यन सिग्देलको व्यस्तता ह्वात्तै बढेको छ । उनको हातमा फिल्म नै फिल्म छ । फिल्म ‘पुजार सार्की’ चलेपछि आर्यनको व्यस्तता बढेको हो । कुनै समय हल्लिएको उनको करिअर अहिले पनि बाटो समातेर अगाडि बढिरहेको छ ।

उनै, आर्यन अब फिल्म ‘महाराजधिराज’मा अनुवन्धित भएका छन् । विराज बिष्टको प्रस्तुतिमा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाराजधिराज’मा आर्यनको महत्वपूर्ण भूमिका रहेको वुझिएको छ ।

यो फिल्मको शिर्ष भूमिकामा नायक पल शाहले काम गर्दैछन् । आर्यन र पलले यसअघि फिल्म ‘पुजार सार्की’मा पनि सहकार्य गरेका थिए । फिल्ममा नायक रमेश उप्रेती र कलाकार जयकिशन बस्नेत पनि अनुवन्धित भइसकेका छन् ।

फिल्मको रिलिज मिति दशैंको फूलपातिलाई तोकिएको छ । निर्माण टिमले जेठको १ गतेबाट फिल्मको छायांकन सुरु गर्ने जनाएको छ । फिल्ममा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का निर्माताको रुपमा छन् ।

यो फिल्ममा निर्देशक सेनकै कथा छ । आर्यनको जेठ महिनामा मात्र फिल्म ‘के घर के डेराः घर नम्बर २ र महाभोज’ रिलिजमा आउँदैछन् ।