नायिका पूजा शर्मा फेरि एकपटक एक्सन फिल्ममा देखिने भएकी छिन् । पूजाले रुपेश तामाङको निर्देशनमा बन्न लागेको नयाँ एक्सन फिल्म साइन गरेकी हुन् । पूजाको जन्मदिनमा रुपेशले उनीसँग नयाँ फिल्मका लागि कागजी संझौता गरेका हुन् ।
गतवर्ष रुपेशको निर्देशनमा तयार भएको फिल्म ‘दान्भी’मा पनि पूजाले एक्सन गरेकी थिइन् । उनको एक्सनलाई रुचाइएको थियो ।
यसपटक, मल्टिस्टारर कलाकार लिएर एक्सन फिल्म बनाउने तयारी रुपेशको छ । यसका लागि कलाकारहरुलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ ।
फिल्ममा पूजा फाइनल भएपछि रुपेश भन्छन्–‘मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौं । यसपटक अघिल्ला फिल्ममा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोशिश गर्नेछु ।’
नायिका शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्–‘दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले, मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो । रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ ।’
निर्देशक रुपेशका अनुसार, यसपटक फिल्ममा कलाकारहरु सरप्राइज हुनेछन् । फिल्मको नाम तय गरिएको छैन । केही दिनमै फिल्मको नाम विकास बोर्डमा दर्ता गरेरपछि सार्वजनिक गर्ने रुपेशले बताए । फिल्मलाई सुमन गजमेरले लेखिरहेका छन् । केही महिनापछि फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया