वीरगन्जको नारायणी अस्पतालको ठेक्कामा एक करोड ८४ लाख भ्रष्टाचार


काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक निर्माणसम्बन्धी ठेक्कामा एक करोड ८४ लाख भ्रष्टाचार भएको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठेकेदार कम्पनी शिवाको÷विकास एण्ड ब्रदर्स÷विजी जेभी हो ।

आर्थिक वर्ष ०७७÷७८ मा अस्पतालको आकस्मिक कक्ष निर्माणसम्बन्धी ठेक्का प्रक्रिया अघि बढेको थियो । ठेक्कामा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत हुनेगरी ‘इन्टरलकिङ टायल’ लाई भवन निर्माणको मुख्य आइटमका रुपमा समावेश गरेको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

ठेकेदारले काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा खैरो रंगको इन्टरकल ब्लकको काम गरेको देखाएको थियो । अति सामान्य कुरालाई बदनियतपूर्वक बोलपत्रमा समावेश गरेको र त्यसैलाई मूल्यांकनमा व्यहोरा उल्लेख गरेर लक्षित बोलपत्रबाहेकका अन्य बोलपत्र प्रस्तावलाई असफल कायम गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

स्वीकृत लागत अनुमानमा नरहेका आइटम थप गरी बोलपत्रसम्बन्धी कागजात तयार गरेर लक्षित ठेकेदारलाई सफल हुनेगरी सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित गरिएको अख्तियारको दावी छ । प्रतिस्पर्धा सीमित हुनेगरी ठेक्का सम्झौता गरी एक करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ नेपाल सरकार एवं सार्वजनिक संस्था नारायणी अस्पताललाई गैरकानुनी हानीनोक्सानी पु¥याएको पुष्टि भएको अभियोग अख्तियारको छ ।

नारायणी अस्पताका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरलाई हानी पुगेको बराबरकै बिगो दावी गरेर प्रतिवादी कायम गरिएको छ । सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह तथा इन्जिनियर सकुर अन्सारी पनि प्रतिवादी छन् । अस्पतालका तत्कालीन नासु सुशीलप्रसाद यादव र तत्कालीन लेखापाल सुदीपकुमार माझीविरुद्ध पनि मुद्दा दायर भएको छ । मूल्यांकन समितिका संयोजक डा. वीरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी र मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका आधिकारिक प्रतिनिधि जगत बुढा, लुम्बिनी विल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा र लुम्बिनी मिसन जेभीलाई अख्तियारले मुद्दाको प्रतिवादी बनाएको छ ।