कान्छारामका ठाउँमा राज्यमन्त्री नियुक्त गर्बुजाले गरे पदबहाली


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन् । राज्यमन्त्री खर्बुजाले आइतबार प्रधानमन्त्री केपी ओलीबाट सपथग्रहण गरेपछि सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेर पदबहाली गरेका हुन् ।

पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले देश र जनताका पक्षमा काम गर्ने बताए । उनले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

कांग्रेस म्याग्दीका सभापति एवं प्रतिनिधिसभा सदस्य गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते राज्यमन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले रामेछापबाट चुनाव जितेका पूर्णबहादुर तामाङ (कान्छाराम) लाई ऊर्जा राज्यमन्त्तीबाट बर्खास्त गरेका थिए । त्यसको अहिले कांग्रेसमा विरोध भइरहेको छ । कुलमान घिसिङलाई सहयोग गरेको भन्दै आफूलाई प्रधानमन्त्री ओलीले पदबाट हटाएको उनको आरोप छ ।