एमालेको पदचाप पछ्याउँदै माओवादी, जेठ २ देखि मध्यपहाडी लोकमार्ग अभियान थाल्ने


काठमाडौं – प्रमुख प्रतिपक्ष माओवादीले विगतमा एमालेले गरेको मध्यपहाडी लोकमार्ग अभियान थाल्ने भएको छ । पूर्वको ताप्लेजुङको चिवा भन्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म मध्यपहाडी लोकमार्ग पर्छ । पार्टी अध्यक्ष पुष्ष्पकमल दाहाल प्रचण्डको खुखलटारस्थित निवासमा आइतबार दिउँसो बनेको माओवादी पदाधिकारी बैठकले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान थाल्ने निर्णय गरेको हो ।

बैठकले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समीक्षा गर्द सो अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकाले माओवादीको मात्र नभई सम्पूर्ण राष्ट्रकै अभियान बन्न पुगेको निष्कर्षसमेत निकालेको छ । यस्तै, अभियानमा सहभागिता जनाएका जनसमुदायप्रति धन्यवाद ज्ञापनसमेत गरेको छ । बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको एक नेताले बताए । विगतमा एमालेले पनि मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गरेको थियो ।

अभियान समापनपछि एमालेले मध्यपहाडी क्षेत्रमा पार्टीको संगठन विस्तार भएको दाबी गरेको थियो । तर गत निर्वाचनमा एमालेले मध्यपहाडी क्षेत्रमा खासै भोट बढाउन सकेन । अहिले एमालेको फेल भएको मध्यपहाडी लोकमार्ग अभियान प्रचण्डले अनुशरण गरेका छन् । केही दिन अगाडिसम्म सरकारमा जाने तयारी गरेको माओवादीले वर्खायाममा मध्यपहाडी लोकमार्ग अभियान थाल्नुलाई सर्वसाधारणले उपयुक्त समय मानेका छैनन् ।