काठमाडौं । नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की र रजिस्ट्रारमा डा. सुरेशराज आचार्य नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले विश्वविद्यालयका उपकुलपतिमा कार्की र रजिष्ट्रारमा आचार्यलाई नियुक्त गरेको हो । सार्वजनिक सूचनामार्फत प्राप्त आवेदनहरूमध्येबाट सिफारिस समितिले योग्य उम्मेदवारहरूलाई संक्षिप्त सूचीमा समावेश गरी कार्यपत्र प्रस्तुतिकरण र अन्तर्वार्ता गरेको थियो। सोही आधारमा समितिले सर्वोत्कृष्ट उम्मेदवारको नाम सिफारिस गरेको हो। कार्की वरिष्ठ चिकित्सक तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउप(कुलपति हुन् ।
रजिष्ट्रारमा नियुक्त आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ हुन् । उपकुलपति तथा रजिष्ट्रारको नियुक्ति सिफारिस समितीको सिफारिसको आधारमा परिषद तथा कुलपतिबाट ऐनको प्रावधानअनुसार गरिएको छ । २०८१ कार्तिकमा संघीय संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपाल विश्वविद्यालय ऐन २०८१ अनुसार, विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ। कुलपतिको छुनोट संरक्षक परिषदका सदस्यहरू मध्येबाट संरक्षक परिषदले गर्ने प्रावधानअनुसार यसअघि नै परिषदले एशियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. विन्दुनाथ लोहनीलाई विश्वविद्यालयको पहिलो कुलपति छनोट गरिसकेको छ।
नेपाल विश्वविद्यालयका संरक्षक परिषदका पदेन बाहेकका अन्य सदस्यमा डा। राम मनोहर श्रेष्ठ, डा। शिवा थापा, डा। जगदीश चन्द्र पोखरेल, डा। विपिन अधिकारी, डा। विमला राई पौडयाल, श्री लक्ष्मीदेवी पाण्डे, ई। लाल कृष्ण के सी, श्री माधव प्रसाद पौडेल, श्री रामेश्वर खनाल र श्री चाँदनी जोशी रहनुभएको छ । अन्तरविधात्मक अवधारणा अनुसार विविध संकायमा उच्च शिक्षाको अध्ययन हुने सार्वजनिक तथा गैर(नाफामुलक प्रकृतिको नेपाल विश्वविद्यालयले उच्च गुणस्तरीय अनुसन्धानमुलक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै सक्षम, जिम्मेवार, सिर्जनशिल, उद्यमशील र प्रतिस्पर्धी जनशक्ती उत्पादन गरी राष्ट्र निर्माणमा योगदान पुऱ्याउने लक्ष्य राखेको छ।
देश तथा विदेशका शिक्षाविद्, प्राज्ञ, विज्ञ र नागरिक समाजका प्रबुद्ध व्यक्तित्वहरूको केहि वर्षदेखिको निरन्तरको प्रयास र राजनीतिक नेतृत्व तथा नेपाल सरकारको अपनत्व र समर्थनको परिणाम स्वरुप यस विश्वविद्यालयको स्थापना भएको हो। नेपाल विश्वविद्यालयले प्राज्ञिक कार्यक्रम आफ्नै आंगिक क्याम्पसहरूबाट मात्र सञ्चालन गर्ने र सम्न्धन नदिने नीति लिएको छ।
प्रतिक्रिया