प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल जारी


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता जारी छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, उक्त भेटमा संक्रमणकालीन न्याय र समसामयिक राजनीतिक विषयहरूबारे छलफल भइरहेको छ। छलफलमा प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन पनि सहभागी छन्।

यसअघि आइतबार द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री ओलीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएका थिए।

द्वन्द्वपीडित नेतृ देवी खड्कासहितको प्रतिनिधिमण्डलले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस प्रक्रियामा आफूहरूसँग परामर्श नगरेको र प्रक्रिया विश्वासिलो नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए।