सर्लाही – मनुस्मारा सिँचाइ आयोजनाको डिलको करोडौं मूल्यबराबरको सिसो काटेको अभियोगमा भ्रष्टाचार दोषी ठहर कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहको दादागिरी बढ्दै गएको छ । कांग्रेस सर्लाही जिल्ला समितिका अधिकांशले सिंहलाई पदबाट राजीनामा दिन दबाब दिँदा पनि नमानेका सिंहका अर्को कर्तुत सार्वजनिक भएको छ । विद्यालय क्षेत्रमा अवैध क्रसर चलाएको विषयमा आवाज उठाएपछि सिंहले झुटा मुद्दा लगाएर ६ जनालाई फसाउन खोजेका छन् ।
सर्लाहीको बसबरिया गाउँपालिका–५ कोठियार नजिकको प्राथमिक विद्यालयमा अवैध रूपमा सञ्चालन भएको क्रसर हटाउनुपर्ने माग गर्ने ६ जनामाथि झुटा मुद्दा लगाएर फसाउन खोजेको पीडितहरूको गुनासो छ । विद्यालय र मन्दिर नजिक रहेको सभापति सिंहको क्रसरमा हुलहुज्जत गरेको भन्दै उनका भाइ प्रदेश सांसद वीरेन्द्रप्रसाद सिहले उक्त मुद्दा हालेको पीडित दिपेश यादवले बताए ।
‘स्कुल र मन्दिर नजिकै सुरेन्द्रप्रसाद सिंह र उनको परिवारको क्रसर छ, जसको धुलो उडेर स्कुलमा पस्दा पढने वातावरण छैन, बालबालिकाहरू बिरामी भएका छन् भने कतिपयले अन्यत्र गाउँमा लगेर पढाउनु परेको छ,’ यादवले भने, ‘जसको हामीले विरोध गरेका थियौं, त्यसपछि हामीलाई सभापति आफै रड लिएर हान्न आउनुभएको थियो, अहिले त झुटा मुद्दा लगाइदिनुभएछ ।’ गत वैशाख १० गते सभापति सिंह आफै रड बोकेर स्थानीय गाउँलेमाथि जाइ लागेपछि विरोध गरिएको थियो । झडपको स्थिति भएपछि सिंह भागेका थिए । ‘तर, पछि पावर देखाउँदै हामीमाथि झुटा मुद्दा लगाउनुभयो,’ उनले भने ।
सभापति सिंहले आफ्नो विरोध गर्ने ६ जनामाथि बरहथवा प्रहरीमा डाँका मुद्दा हालेका छन् । उनले मुद्दा हालेकामा स्थानीय दिपेश यादव, मदन साह, रामआधार यादव, रामप्रवेश यादव, विजय गुप्ता र ज्ञानी यादव छन् । पूर्वमन्त्री वीरेन्द्र सिंह र सभापति सिंहको क्रसर प्राथमिक विद्यालयभन्दा ३०–३५ मिटरको दूरीमा छ । स्थानीयले त्यहाँबाट क्रसर सार्न माग गर्दै आए पनि सिंह दाजुभाइले दादागिरी देखाउँदै आएका छन् ।
प्रतिक्रिया