बालेनका सल्लाहकारद्वय व्यञ्जनकार र लम्सालसँग २० लाख असुल्न महालेखाको पत्र


काठमाडौं – काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र साह बालेनको स्वेच्छाचारिताप्रति महालेखा परीक्षक कार्यालयले अंकुश लगाएको छ । बालेनको निर्देशनमा नियमविपरीत फ्रान्स भ्रमणमा गएका उनका सल्लाहकाद्वय कुमार व्यञ्जनकार र सुनील लम्सालको भ्रमण खर्च असुल्न महालेखाले काठमाडौं महानगरलाई पत्राचार गरेको छ ।

भ्रमणबापत बेरुजु देखिएको करिब २० लाख रुपैयाँ व्यञ्जनकार र लम्सालसँग असुलउपर गर्न महालेखाले पत्राचार गरेको हो । फ्रान्समा गत वर्ष मे १४ देखि २५ तारिखसम्म चलेको ७७औं चलचित्र महोत्सवमा सहभागी हुन मेयर बालेनलाई मात्र निम्तो आएको थियो, तर नियमविपरीत व्यञ्जनकार र लम्साल पनि गएका थिए । भ्रमणमा महानगरको २० लाख खर्च गरेको पाइएपछि महालेखाले २० लाख बेरुजु औंल्याएको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बालेनको आदेशअनुसार व्यञ्जनकार र लम्साललाई फ्रान्स पठाउने निर्णय गरेका थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन सुरू गरेको छ । बालेनले फ्रान्स भ्रमणमा लगेको विषयमा अख्तियारले महानगरसँग भ्रमणको सबै विवरण मागेको हो ।

शासन विभागको असहमतिका बाबजुद प्रमुख प्रशासकीय अधिकृत परियारले बालेनको आदेशमा उनीहरुको भ्रमण स्वीकृत गरेका थिए । यो काण्डमा बालेन पनि अख्तियारको कारबाहीमा पर्ने सम्भावना उच्च रहेको बताइन्छ । । सामाजिक सञ्जालमा नेपालको भ्रष्टाचार विरोधी बालेनले गरेको ब्राजिल र फ्रान्सको भ्रमणको पछाडिका कर्तुतहरूले उनी र उनको टिमको आर्थिक अपारदर्शिता छताछुल्ल हुने अवस्थामा पुगेको छ ।