‘महाभोज’को कार्यक्रममा निश्चल–पत्रकारको लफडा



आइतबार आयोजना भएको फिल्म ‘महाभोज’को गीत रिलिज कार्यक्रम निर्देशक तथा कलाकार निश्चल बस्नेत र एक पत्रकारबिचको लफडाका कारण चर्चामा छ ।

तर, यत्रो कार्यक्रम राखेर पनि फिल्मको टिमलाई भने कुनै फाइदा भएको देखिएन । किनभने, बजारमा सबै चर्चा निश्चल र पत्रकारबिचको लफडाले खाइदियो ।

गीत रिलिज कार्यक्रम रमाइलो भइरहेको थियो । फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, दयाहाङ राई र खगेन्द्र लामिछानेले नाच्न नजानेको विषयमा रमाइलो कुराकानी गरिरहेका थिए ।

तर, एक पत्रकारले ‘फिल्म बनाएर समस्या मात्र उठाएर पैसा कमाउने, समाधान दिनु पर्दैन’ भन्दै प्रश्न गरेपछि फिल्मका निर्देशक दिनेश राउत अचम्ममा परे । उनको हातमा रहेको माइक फिल्ममा अतिथी भूमिकामा काम गरेका निर्देशक निश्चल बस्नेतले ताने र बोले । उनले, ‘तपाई यहाँ हाम्रो भिडियो खिचेर पैसा कमाउन आएको’ भनेपछि पत्रकार र उनीबिच झनै चर्काचर्की भयो ।

कार्यक्रम सकिनै लाग्दा यी दुइविच बहस भएको थियो । यही बहसको सर्वत्र हल्ला छ । मिडियामा पनि यही चर्काचर्कीले स्थान पाउँदा फिल्मको गीत रिलिज नै ओझेलमा पर्यो ।

अहिले, निश्चल सही कि पत्रकार भन्ने बहसहरु सुनिएका छन् । यो फिल्म जेठको १५ गतेबाट रिलिजमा आउँदैछ ।