काठमाडौं – गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई अहिलेसम्म पक्राउ नपरेको भन्दै सांसदहरूले फेरि पनि सरकारलाई प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ भनेर सरकारलाई प्रश्न गरेका छन् । उनले सरकार सञ्चालनको १० महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएकोप्रति आपत्ति जनाए । उनले सहकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्तासमेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको आरोप पनि लगाए ।
‘तपाईंकै पार्टीले सरकार सञ्चालन गरेको १० महिना पूरा भइसक्यो । जीबी राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? जनताले प्रश्न सोध्ने गरेका छन् । बाहिर आएअनुसार १६ अर्बमध्ये सात अर्बमात्र जीबी राईले आफूले ल्याएको र तिर्छु भन्ने सुनियो । नौ अर्बको भागिदार कोको हुन् भन्ने तथ्यको उजागर हुने हुँँदा जीबी राईलाई पक्राउ नगरिएको हो भनेर जनता त हल्ला गर्दै छन् नि । के त्यस्तै हो ?’ उनले प्रश्न गरे ।
सांसद पराजुलीले रास्वपाले सहकारीपीडितका मुद्दा उठाउँदै आएको र अघिल्लो वर्ष नै सरकारले पीडितको रकम फिर्ता गर्न सुझाव दिएको पनि स्मरण गरे । गोर्खा मिडियाकै पूर्वसञ्चालक रहेको आधारमा रास्वपा सभापति रवि लामिछाने र तत्कालीन प्रबन्ध निर्देशक छवि जोशी भने हाल कारागारमा छन् । उनीहरूलाई सहकारी ठगीको पैसा अनधिकृत रूपमा गोर्खा मिडियामा लगी अपचलन गरेको आरोप लगाइएको छ । तर अध्यक्ष राईले भने विदेशमा रहेकैले उन्मुक्ति पाएका छन् ।
प्रतिक्रिया