नीति तथा कार्यक्रमलाई लिएर सरकारमाथि प्रचण्डको प्रहार


काठमाडौं – प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई लिएर सरकारमाथि प्रहार गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रमलाई कर्मकाण्डीको संज्ञा दिए । आफ्नो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा रहेका लोकप्रिय कार्यक्रमलाई अहिलेको सरकारले हटाएको भन्दै आपत्ति जनाए ।

अहिलेको सरकार अप्राकृतिक गठबन्धनको रहेको भन्दै जनताभन्दा पनि केही निश्चित वर्गको पक्षपोषण गर्न सरकारले नीति तथा कार्यक्रम ल्याइएको आरोप लगाए । प्रचण्ड प्रधानमन्त्री केपी ओलीमाथि बढी नै खनिए । ओलीलाई समृद्ध र सुखी नेपाली नचाहिएको भन्दै कुन चाहिँ नेपाली जनताका लागि कार्यक्रम ल्याएको भनेर प्रश्न गरे । माओवादी त्यसमा पनि प्रचण्डमाथि बदला लिन अहिलेको सरकार लागिपरेको दाबी गरे ।

अघिल्लो सरकारले ल्याएका लोकप्रिय कार्यक्रम हटाएको भन्दै उनले आपत्ति जनाए । प्रचण्डले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन दर्जनौं निर्णय गरेको भन्दै कुलमानलाई हटाएरै छाडेकोमा धन्यवाद भनेर कटाक्ष गरे । कुलमानलाई समर्थन गरेकै कारण आफ्नै मन्त्रीलाई समेत हटाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे । प्रचण्डले नीति तथा कार्यक्रममा भाग लिँदै आफ्नो सरकारले ल्याएका धेरै कार्यक्रमको मात्रै चर्चा गरे । प्रचण्ड प्रधानमन्त्री हुँदा एमाले नै सरकारमा थियो ।