एक महिनासम्म गभर्नर नियुक्त गर्न नसकेकोमा सरकारलाई प्रचण्डको कटाक्ष


काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक महिनासम्म पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेकोमा सरकारप्रति कटाक्ष गरेका छन् । सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले स्वार्थ समूहकै कारण सरकारले गभर्नर नियुक्त गर्न नसकेको दाबी गरे । गत चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिए पनि सरकारले एक महिना बितिसक्दा पनि नियुक्त गर्न सकेको छैन ।

गभर्नर नियुक्तिमा सत्तारुढ कांग्रेस र एमालेबीच फेरि विवाद उत्पन्न भएको छ । जसकारण गभर्नर नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बैठक बस्न सकेको छैन । आइतबार र सोमबारका लागि तय भएको बैठक स्थगित भएको छ । कांग्रेसले गुणाकर भट्टलाई गभर्नर नियुक्ति गर्नुपर्ने अडान लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशक भट्टलाई गर्भनर बनाउन प्रधानमन्त्री केपी ओलीलाई सिफारिस गरेका थिए । भट्टको नाममा देउवा र ओलीबीच सहमति पनि भएको थियो । गर्भनर बन्ने भएपछि भट्टले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा पनि दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।

सरकारले चैत १६ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा गर्भनर नियुक्त गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य थिए । तर वैशाख १० गते सदस्य भट्टराईले असन्तुष्टि जनाउँदै समितिबाट बाहिरिएका थिए । उनको स्थानमा महाप्रसाद अधिकारीलाई सदस्य बनाइएको छ । सिफारिस समितिले नयाँ गर्भनरको नाम चयन गर्न नसक्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ ।

एमालेले राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानालाई गर्भनर बनाउन चाहेको छ । प्रधानमन्त्री केपी ओली ढुंगानालाई गर्भनर बनाउने पक्षमा छन्, तर सभापति देउवा भने त्यसको विपक्षमा छन् । कांग्रेस सभापति देउवाले बमबहादुर मिश्र, भट्ट र नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीको नाम अघि सारेका छन् ।