काठमाडौं – काठमाडौँ महानगरपालिकाले नेपाली भाषामा संवाद गर्न दिन मातहतका सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । उसले विद्यालयमा नेपाली बोल्दैमा विद्यार्थीलाई कारबाही नगर्न सचेतसमेत गराएको छ । महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न निर्देशन दिएको हो ।
‘यस महानगरपालिकाअन्तर्गतका शिक्षण सिकाइको माध्यम अंग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासो प्रति यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको ’, पत्रमा भनिएको छ, ‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ।’ काठमाडौं महानगरपालिका क्षेत्रभित्र करिब ९० वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । संस्थागत विद्यालयको संख्या एकिन छैन ।














प्रतिक्रिया