सौगातलाई २ दशक अगाडि नै ‘जार’मा काम गर्न मन थियो



नायक सौगात मल्ल ‘जार’ फिल्मबाट आशावादी छन् । यो फिल्मको रिलिज मिति नजिक आउँदै गर्दा सौगात झनै उत्साहित छन् । उनी, फिल्मको प्रिमियरका लागि सिक्किम समेत पुगेर आए । सौगातलाई यो फिल्म खेल्न मन लागेको अहिले होइन, दुई दशक अघि नै हो । जब, उनले साहित्यकार इन्द्रबहादुर राइको उपन्यास पढे, त्यसपछि काम गर्ने चाहना उनको बढेको हो ।

दुई दशक पछि आफ्नो सपना पूरा भएको सौगातले बताए । २७ वर्षअघि नाटक ‘जार’ गुरुकुलमा हेरे नाटकमा अभिनय गर्न नपाए पनि नाटक भने पढेको बताउँदै सौगातले भने, “म त्यो समयमा एउटा फिल्ममा फाइनल भइसकेको थिएँ । जसले गर्दा यो नाटकमा काम गर्न पाइनँ’, सौगात भन्छन्, ‘तर नाटक पढ्ने मौका पाएँ । कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई चारदिनसम्म सुत्ने वातावरण दिँदैन । मलाई पनि त्यस्तै भयो ।”

“जब यो कथा मैले पढेँ, त्यही बेला नै म यसमा नाटक बनाउँछु भन्ने थियो । त्यसबेला सिनेमाबारे त सोच्ने भइसकेको थिइनँ,” सौगात भन्छन्, “त्यही सिनेमाका लागि दुई दशकपछि अफर आउँदा सरप्राइज भयो ।”

मुख्य मात्रै होइन जुनसुकै रोलका लागि अफर आएको भए पनि ‘जार’मा आफू खेल्न तयार रहेको उनले बताए । यद्यपि, मुख्य रोलका लागि नै अफर आएपछि झन धेरै खुसी भएको उनले बताए ।

सौगातका अनुसार चलचित्रमा उनले निर्वाह गरेको चरित्रबारे पुस्तकमा पढ्दा उनको जिउँमा काँडा नै उम्रिएको थियो । ‘मैले कागबेनीको चरित्र पछि जारलाई संगालेर राखेको थिएँ । गुरुकुलमा इन्द्रबहादुर राई आउनुहुँदा जारमा नाटक गर्ने इच्छा छ भन्नुभएको थियो । त्यो बेला चरित्रको बारेमा कुराकानी पनि भएको थियो । तर मैले अरु चलचित्र साइन गरिसकेको थिएँ । तर कुनै दिन जारकै कथामा चलचित्र बन्यो भने त्यो पात्र म निभाउँछु भन्ने प्रतिबद्धता जनाएँ’, सौगात सम्झन्छन् ।

कथा पढेपछि तीन महिनासम्म ‘जार’कै पात्रमा बसेको उनी सुनाउँछन् । “मैले जब यो कथा पढेँ । मलाई यो कथाले यसरी तान्यो म त्यसभित्रै डुबेँछु,” सौगात भन्छन्, “तीन महिनासम्म त जारबारे कसैले कुरा गरे मैले त यो खेलिसकेँ त जस्तो लाग्थ्यो । आफूलाई काम गर्न मन लागेको कथामा नाटक वा सिनेमा बनाउँ वा काम गरौँ भन्ने रहर भयो भने सोच्दा सोच्दै यो त मैले गरिसकेँ त जस्तो हुनेरहेछ ।”

कालान्तरमा त्यसैबाट अफर आउनु सुखद् सयोग र भाग्यमानी दुवै भएको सौगात बताउँछन् । आफूले सपना देखेको सिनेमामा काम पनि त्यसैगरी गरेको उनले बताए ।

इन्द्रबहादुर राईको अर्को कथामा पनि काम गर्न मन लागेको उनले बताए । फुर्वा छिरिङ लामाले यो फिल्मको निर्देशन गरेका हुन् ।