सिप मेला २०८२: दक्ष जनशक्ति र रोजगारदाताबीचको पुल बन्ने प्रयास


काठमाडौं — काठमाडौं महानगरपालिकाले आयोजना गर्न लागेको ‘सिप मेला २०८२’ आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा सुरु हुने तयारी गरेको छ। गत वर्षको ‘सिप मेला २०८१’ ले दक्ष जनशक्ति र रोजगारदाता बीच पुलको भूमिका खेलेको भन्दै निजी, उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले यस वर्षको मेलामा पनि सहकार्य गर्न तत्परता व्यक्त गरेका छन्।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सँग भएको छलफलमा उनीहरूले गत वर्षको मेलाबाट प्राप्त अनुभव सकारात्मक रहेको बताउँदै, यस वर्षको मेलालाई अझ प्रभावकारी बनाउनेतर्फ जोड दिनुपर्ने धारणा राखेका थिए।

प्रमुख शाहले ‘सिप मेला’ मार्फत दक्ष जनशक्ति उत्पादन गर्दै त्यसलाई रोजगारीमा आवद्ध गराउने प्रयास भइरहेको बताए। उनका अनुसार, निजी क्षेत्रबाट जनशक्तिको आवश्यकता बुझेर तदनुसार तालिम सञ्चालन गर्ने योजना छ। “तपाईंहरू (उद्योग क्षेत्र) ले माग गरेको जनशक्ति नै हाम्रो लागि मार्गदर्शन हुनेछ,” उनले भने, “मानव पुँजी र रोजगारदाता बीचको खाडल हामीले पूर्नुपर्छ।”

छलफलमा उद्योग क्षेत्रका प्रतिनिधिहरुले सिप मेलाले जनशक्ति अभावको समस्या समाधान गर्न सहयोग पुगेको उल्लेख गरे। उनीहरूले आधारभूत तालिमलाई अद्यावधिक गर्दै विशेषज्ञता अभिवृद्धि गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका अनुभवी जनशक्तिलाई स्वदेशमै समेट्ने, सेवा निवृत्त जनशक्तिको प्रयोग गर्ने, र बैंकसँग सहकार्य गरेर बिउ पुँजी उपलब्ध गराउने जस्ता सुझाव राखे।

नेपालमा डकर्मी, सिकर्मी, प्लम्बिङ्, कपाल काट्ने जस्ता काममा युवाहरूको रुचि कम देखिए पनि यिनै कामका लागि विदेशमा उत्साहपूर्वक जानु विडम्बना भएको भन्दै, यस्ता पेशाहरूमा युवाहरूको आकर्षण बढाउनुपर्ने धारणा छलफलमा उठेको थियो।

गत वर्ष २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएकोमा २ हजार ७२५ जनाले तालिम लिएका थिए, जसमध्ये १ हजार २ सयभन्दा बढी व्यक्ति स्वदेश वा विदेशमा रोजगारीमा आवद्ध भएका थिए।

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ भन्ने नारा सहित महानगरको गौरव योजना अन्तर्गत १५ हजारलाई सिपमूलक तालिम दिई कम्तीमा ५ हजारलाई रोजगारी वा स्वरोजगारमा लैजाने लक्ष्य रहेको छ।

सिप मेलाको उद्देश्य सिप नभएका जनशक्तिलाई दक्ष बनाउने, दक्ष जनशक्तिलाई रोजगार वा स्वरोजगारमा जोड्ने, र अनौपचारिक क्षेत्रका श्रमिकलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्नु हो।

छलफलमा गोल्छा ग्रुपका शेखर गोल्छा, वैद्य ग्रुपका सुरज वैद्य, केएल दुगड ग्रुपका कुमुद दुगड, सूर्य नेपालका रवि केसी र प्रेम अर्याल, चौधरी ग्रुपका निर्भाण चौधरी, एनसेल फाउन्डेसनकी विशाखा लक्ष्मी खड्का, त्रिवेणी ग्रुपका रामचन्द्र संघाई, शंकर ग्रुपका अखिल गुप्ता लगायत उद्योग क्षेत्रका अगुवाहरू सहभागी थिए।