ऋणको बदला एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या


भारत, उत्तर प्रदेश — ब्याज तिर्न नसकेको कारण देखाउँदै एक व्यक्तिले ऋणदाता हनिफ उर्फ इलैचीको हत्या गरेको घटना उत्तर प्रदेश प्रहरीले सुल्झाएको छ। घटनामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरी जेल पठाइसकेको छ।

घटनास्थल हसनपुरको होलीवाला मोहल्लामा मे २ तारिखमा हनिफको शव उनकै घरभित्र बन्द अवस्थामा फेला परेको थियो। हनिफ दोस्रो विवाह गरेका थिए र एक्लै बस्ने गरेका थिए। उनी स्थानीयस्तरमा ब्याजमा पैसा दिने गर्थे।

प्रहरी उपरीक्षक अमित कुमार आनन्द र हसनपुरका सीओ दीप कुमार पन्तले संयुक्त पत्रकार सम्मेलनमार्फत हत्याको खुलासा गरेका हुन्। अनुसन्धान अनुसार, काशीराम कोलोनीका शमशेरले चार महिना अघि हनिफसँग २० हजार रुपैयाँ ऋण लिएका थिए र मोटरसाइकल धितो राखेका थिए। पछि उनले ब्याट्री धितो राख्दै थप पाँच हजार रुपैयाँ पनि लिएका थिए।

ब्याज तिर्न नसकेपछि, शमशेर गत अप्रिल २९ मा श्रीमती शाज्मालाई लिएर हनिफकहाँ पुगेका थिए। बयान अनुसार, हनिफले ब्याज मिनाहा गर्नको सट्टा शमशेरकी श्रीमतीलाई एक महिनासम्म आफूसँग राख्न माग गरेका थिए। यस्ता अपमानजनक प्रस्तावपछि रिसमा आएका शमशेरले तौलियाले घाँटी थिचेर हनिफको हत्या गरेका थिए।

हत्या गरेपछि, दम्पतीले शवलाई बक्समा राखी मोटरसाइकल र ब्याट्री लिएर भागेका थिए। घटनाको पर्दाफास मृतकको मोबाइल फोन र घरनजिकको सीसीटीभी फुटेजको सहयोगमा सम्भव भएको प्रहरी बताउँछ।

प्रहरी सोधपुछमा शमशेर र शाज्मा दुबैले अपराध स्वीकार गरेका छन्। अभियुक्तहरूलाई अदालतमार्फत जेल चलान गरिएको छ।

घटना सफलतापूर्वक सुल्झाएकोमा प्रहरी उपरीक्षक आनन्दले अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई २५ हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरेका छन्।