ओमान सरकारद्वारा भिसाविहीन नेपाली श्रमिकलाई तीन महिनाको आममाफी


काठमाडौँ — ओमान सरकारले भिसा सकिएर अवैधानिक रूपमा बसिरहेका नेपालसहितका आप्रवासी श्रमिकलाई तीन महिनाको आममाफी प्रदान गरेको छ।

ओमानको श्रम मन्त्रालयले यो निर्णय अनुसार, कानुनी हैसियतविना ओमानमा बसोबास गरिरहेका श्रमिकले जरिवाना नतिरी स्वदेश फर्कन सक्नेछन्। तीन महिनाभित्र स्वदेश फर्कने नेपाली श्रमिकका लागि सबै जरिवाना शुल्क माफ गरिने नेपाली दूतावासले जनाएको छ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै भिसाविहीन नेपालीहरूलाई यो योजनाको फाइदा लिन आग्रह गरेको छ। साथै, स्वदेश फर्किने प्रक्रिया सहज बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

हाल ओमानमा कति नेपाली भिसाविहीन अवस्थामा छन् भन्ने यकिन नभए पनि, करिब २२ हजार नेपाली त्यहाँ कार्यरत छन्।