काठमाडौं – गत शुक्रबार जमिनमुनि भासिएर हराएको बोलेरो गाडी अझै फेला परेको छैन । धेरै प्रयास गर्दा पनि फेला नपरेपछि अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा पुगेको छ । मंगलबार बिहान हेटौडा पुगेको टोलीले काम सुरु गरिसकेको छ । टोलीले घटनास्थलको भूबनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ । खानी तथा भूगर्भ विभागबाट चारजनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो ।
विभागका भूगर्भविद् नारायण अधिकारीले घटनास्थलको भौगोलिक अवस्था माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताए । घटनास्थलको सतहमुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी रहेको उनको भनाइ छ । म्याग्नेटो मिटरको आधारमा भूगोलको चुम्बकीय क्षेत्र तथा पदार्थको अवस्था पत्ता लगाउने उनले बताए ।
गत शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै गैरीगाउँमा भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिंगल क्याप बलेरो गाडी जमिन भासिएर बेपत्ता भएको थियो । ना४च ४८३३ नम्बरको गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासी जमिननै भासिएर जमिनमुनि बेपत्ता भएको थियो । गाडी बेपत्ता भएको ठाउँ दलदले भएको र यसअघि त्यहाँ हलगोरु नै हराएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया