बजेट ल्याउने तयारीमा रहेका अर्थमन्त्री पौडेलको बढ्यो दौडधूप, देउवापछि प्रचण्डलाई भेटे


काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल यतिबेला आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट लेखनबारे परामर्श तीव्र पारेका छन् । आगामी जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही कारण अहिले अर्थमन्त्री पौडेलको दौडधूप बढेको छ ।

अर्थमन्त्री पौडेलले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बजेटबारे परामर्श गरेका थिए । बूढानीलकण्ठस्थित देउवा निवास पुगी पौडेलले बजेटबारे परामर्श गरेका हुन् । त्यस अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुने गरी बजेट निर्माण गर्न सुझाव दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । देउवा सत्तारुढ दलका सभापति पनि हुन् ।

अर्थमन्त्री पौडेलले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ । सत्तारुढ र विपक्षी दुवै दलका अध्यक्षसँगको परामर्शपछि पौडेलले नयाँ बजेटको खाका बनाउने तयारी गरेका छन् ।