काठमाडौं । आठ वर्षअघि सुरु भएको नेपालकै पहिलो निःशुल्क कपडा बैंक बन्द हुने अवस्थामा पुगेको छ । प्राकृतिक विपत्ति र दैवीप्रकोपबाट घरवारविहीन भएका तथा असहाय र निमुखा मानिसका लागि विमल पन्त, हन्ड्रेड ग्रुपलगायतको सक्रियतामा कपडा बैंक खुलेको थियो ।
कपडा बैंकका सञ्चाल पन्तले आठ वर्षदेखि आफ्नै खर्चमा सञ्चालन गरिए पनि अब भने धान्न नसक्ने अवस्था आएकाले बन्द गर्नुपरेको बताए । हुनेले दिने र नहुनेले लिने अभियानबाट निःशुल्क रुपमा कपडा वितरणको अभियान निकै प्रभावकारी बन्दै आएको थियो । उपत्यकालगायत सुदूरपश्चिमदेखि पूर्वसम्म लाखौँ मानिसलाई निःशुल्क रुपमा कपडा वितरण गरेको पन्त बताउँछन् ।
कपडा बैंकबाट बाढीपहिरोले घरबारविहीन भएका व्यक्तिदेखि संसद् भवन निर्माण गर्ने मजदुरसम्मले कपडा लगेका छन् । ‘कतिपयले यहाँबाट लगेको कपडाले जाडो समय टारेको छ, कपडा किन्ने पैसाले दसैंतिहार टारेको छु भन्नुहुन्छ,’ पन्तले भने । सटर भाडा, ढुवानी खर्च, बोराको खर्च सबै गरेर कपडा बैंक सञ्चालन गर्न मासिक ४० हजार आफ्नो पकेटबाट हाल्नुपरेको उनले सुनाए ।
प्रतिक्रिया