काठमाडौँ । नेपालका एक मात्र खर्बपति विनोद चौधरीले माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन् । सिंगापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स–२०२५ को अवसरमा मंगलबार उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा दुवैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीबारे छलफल भएको छ । भेटमा चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे ।

उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए । कांग्रेस सांसद चौधरीले सोसियल मेडियामार्फत बिल गेट्ससँगको साइडलाइन मिटिङको तस्बिर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।
चौधरीका अनुसार गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि सञ्चालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया