काठमाडौं – निर्देशक मिलन चाम्स को निर्देशनमा बन्ने नयाँ फिल्म ‘सुम्निमा’ मा अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा अनुबन्धित भएकी छिन्। प्रेमकथामा आधारित यस फिल्मलाई नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण गरिने भएको छ।
उपासनाको सहभागीता सुनिश्चित भएसँगै फिल्ममा उनीसँग स्क्रिन सेयर गर्ने मुख्य अभिनेता चयनका लागि अडिसनको घोषणा गरिएको छ। बेलायत (यूके) मा बसोबास गर्ने २० देखि २६ वर्ष उमेर समूहका युवाहरू अडिसनमा सहभागी हुन सक्ने जनाइएको छ।
निर्देशक चाम्सले फिल्म अन्तर्राष्ट्रिय दर्शक र बजारलाई लक्षित गरेर तयार पारिने जानकारी दिए। उनले भने, “कथावस्तु युनिभर्सल भएकोले फिल्म विदेशी दर्शकमाझ पनि प्रभाव पार्न सक्छ।”
नेपाल र बेलायत दुबै देशमा जुलाई महिनादेखि फिल्मको छायांकन सुरु गरिने योजना छ। फिल्म चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स को संयुक्त ब्यानरमा निर्माण गरिनेछ।
‘सुम्निमा’ चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ। फिल्मको कथा र पटकथा लेखक राजीव थापा ले तयार गरेका छन्।
यसअघि चाम्सको निर्देशनमा बनेको बायोपिक फिल्म ‘अञ्जिला’ ले ५१ औं दिन पार गर्दै सफल प्रदर्शन गरिसकेको छ। ‘अञ्जिला’ को सफलताले चाम्सलाई आगामी प्रोजेक्टप्रति अझ बढी जिम्मेवार बनाएको छ। निर्देशक चाम्सले ‘सुम्निमा’ उत्कृष्ट बन्नेमा आफू विश्वस्त रहेको बताए।
फिल्मका अन्य कलाकार र प्राविधिक टिमबारे चाँडै सार्वजनिक गरिने जनाइएको छ।
प्रतिक्रिया