आइपिओ स्वीकृतिका लागि किन सधैं लाग्छ कमिसन मागेको आरोप


काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलियामार्फत आइपिओ स्वीकृतिका लागि कमिसन मागेको विषय संसदमा प्रवेश गरेको छ । मंगलबार माओवादी सांसद माधव सापकोटाले आइपिओ स्वीकृतिका लागि कमिसन मागेको हल्ला चलेको भन्दै छानबिन हुनुपर्ने माग गरे । आइपिओका लागि अनुमति दिन बोर्ड अध्यक्ष श्रेष्ठले कमिसनको माग गर्दै बिचौलिया पठाएको केही ऊर्जा व्यवसायीले आरोप लगाएका छन् । यसबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भने आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

ऊर्जा व्यवसायीको आरोपपछि इप्पानसमेत अफ्ठेरोमा परेको छ । ४३ वटा जलविद्युत् कम्पनीले १९ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको आइपिओका लागि बोर्डमा निवेदन दिएका छन् । तर लामो समयदेखि आइपिओ जारी गर्ने स्वीकृति पाएका छन् । झन्डै एक वर्ष बोड अध्यक्ष नियुक्ति नहुँदा आइपिओ खुलेका छैनन् ।

धितोपत्र बोर्डले भने हाइड्रोपावरको आइपिओ अनुमतिमा कमिसन मागेको आरोपलाई खण्डन गरेको छ। बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले मंगलबार विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठमाथिको आरोपलाई, तथ्यहीन, आधारविहीन, कपोकल्पित र नियोजित प्रचारको संज्ञा दिँदै नियामक संस्थाको छविलाई धूमिल पार्ने नियोजित प्रयास भएको दाबी गरेका हुन् ।

बोर्डका अनुसार पूँजी बजारमा सुधार देखिएसँगै केही स्वार्थ समूहहरू आत्तिएर नियामकलाई बदनाम गर्न प्रायोजित सामग्रीहरू सार्वजनिक गरिरहेका छन्।साथै, कसैले अध्यक्षको नाम लिएर गैरकानुनी लाभ लिएको प्रमाण भएमा तथ्यगत विवरण उपलब्ध गराउन बोर्डले सबैलाई आग्रह गरेको छ। बोर्डले अध्यक्षको क्ष्ज्जत धुमिल बनाउन प्रायोजित हल्ला चलाएको दाबी गरेको छ ।