प्रतिक्षामा रहेको फिल्म ‘जार’ कस्तो होला ? इन्द्रबहादुर राइको कथामा आधारित रहेर तयार पारिएको यो फिल्मलाई निर्देशक फूर्वा छिरिङ लामाले कसरी पर्दामा उतारेका होलान् त ? धेरैलाई चासोको बिषय बन्न सक्छ ।
वैशाखको २६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको प्रिमियर ललितपुरको लाबिम मलमा गरिएको छ । प्रिमियरमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, ललितपुरका सांसद उदय शमशेर जबरा, नायिका मनिषा कोइराला, नेतृ हिसिला यमी, नायक विपिन कार्की, नायिका केकी अधिकारी, निर्देशक प्रदीप भट्टराई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, नवल नेपाल लगायत उपस्थित थिए ।
फिल्म हेरेका अधिकांशले यसको छायांकनपक्षको तारिफ गरेका थिए । संस्कृति, संस्कार र बहादुरीको कथा झल्काउने फिल्मले प्रेम र वीरताको कथा भन्छ ।
फिल्म हेरेपछि पूर्व प्रधानमन्त्री भट्टराइले दुई सय वर्ष पुरानो परिवेशको फिल्म पूर्ण मौलिक कथामा बनेको बताउँदै सो समयको समय र नेपालमा जार प्रथाको कथा वुझ्न यो फिल्म हेर्नुपर्ने बताए ।
उनले, फिल्मकी गायिका तथा संगीतकार झुमा लिम्बुको शैलीको तारिफ गरे । नायिका मनिषा कोइरालाले पनि फिल्मको प्रशंसा गरिन् । उनले, पछिल्लो समय उत्कृष्ट फिल्महरु बनिरहेको भन्दै त्यसकै निरन्तरतामा यो फिल्म बनेको बताए ।
फिल्म हेर्न पुगेका निर्देशक दीपेन्द्र लामाले त यो फिल्मलाई ४.५ रेटिङ दिएका छन् । प्रिमियरमा उपस्थित अधिकांशले फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल, अनुप विक्रम शाही, गिताञ्जली थापाको सशक्त अभिनयको पनि खुलेरै तारिफ गरेका थिए । साहित्यकार इन्द्रबहादुर राइको ऐतिहासिक कथामा आधारित रहेर तयार पारिएको फिल्मलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको फिल्मको छायांकन सिक्किममा गरिएको हो । शुक्रबारदेखि रिलिजमा आउने फिल्मको बुकिङ खुलिसकेको छ । फिल्मले नेपाली फिल्मको मेकिङलाई एक तह माथि लगेको भन्दै चर्चा भइरहेको छ ।
प्रतिक्रिया