सशस्त्र प्रहरीको ड्रेस लगाएर सामाजिक सञ्जालमा फोटो र भिडियो राख्ने डेढ सयमाथि कारबाही


काठमाडौं । सशस्त्र प्रहरी बल पछिल्लो समय कोड अफ कन्डक्टमा कडाईका साथ लागेको छ । अनुशासन उल्लंघन गर्ने सानादेखि ठूला अधिकृतमाथि पनि कारबाहीको एक्सन लिन थालिएको छ । यसैक्रममा सशस्त्र प्रहरीको पोशाक लगाएर सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने एक सय ६६ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्म छन्।

सशस्त्र प्रहरी बल नेपालले दुई वर्षको अवधिमा संगठनको नीति निर्देशनविपरीत सामाजिक सञ्जालमा संगठनको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडिओ अपलोड गरेको भन्दै कारबाही गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापा बताउँछन् ।

उनीहरूले व्यक्तिगत प्रोफाइलमार्फत सशस्त्र प्रहरीको पोशाक लगाएका भिडिओ र तस्बिर फेसबुक, म्यासेन्जर, एक्स, इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याटलगायतका सामाजिक सञ्जालहरुमा अपलोड गरेका थिए । सशस्त्र प्रहरीको पोशाकको जथाभावी प्रयोग भएको भन्दै अहिले सिनेमामा पनि राख्न पहिले नै अनुमति लिनुपर्ने, स्क्रिप्ट देखाउनुपर्ने नियम ल्याइएको छ ।

कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १ सय २१ र परिचर ३ जना छन्। उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको छ। त्यसमध्ये १ सय १८ जनालाई नसिहत दिइएको छ। सशस्त्रले प्रहरी कर्मचारीहरूलाई नियमन गर्न प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरेको छ।